काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका–३ थानकोटमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक भारतीय नम्बरको कार घरमा ठोक्किएको छ। दुर्घटना दिउँसो २:३० बजे थानकोटस्थित सिद्धार्थ बैंक नजिकै भएको हो।
नागढुङ्गाबाट कालंकीतर्फ गइरहेको भारतीय नम्बर बीआर ०१ पीसी ३७५४ भएको कारलाई पछाडिबाट बा २ ख ९३९३ नम्बरको थानकोट यातायातको फोर्स गाडीले ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित बनेको भारतीय कार सडक छेउमा रहेको घरमा ठोक्किँदा घरको भित्तामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फोर्स गाडीको चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा मानवीय क्षति नभए पनि गाडी र भौतिक संरचनामा क्षति भएको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।