शिक्षा र निजामती ऐन ल्याउने कुरामा आफ्नो पार्टी दृढ रहेको;कांग्रेस सभापति शेरबहादुर देउवा

 संवाददाता    २०८२, १० जेष्ठ शुक्रबार १६:४०     176 जनाले पढ़िसके



Spread the love

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा र निजामती ऐन ल्याउने कुरामा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसका लागि कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको पनि उनले बताए ।

 

‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरूले पाउन सहज होस्, भन्नका निमित्त कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ,’ देउवाले भने ।

साथै, उनले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने पनि बताए । स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको देउवाको भनाइ छ ।

 

‘अनौपचारिक क्षेत्रका श्रमीकका निम्ति श्रमीक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने नै छ । रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने र आफ्नै देशमा बुद्धि, सीप र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको छ । राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक छ,’ देउवाले भने ।