हुम्लाको पहिरोको कारण पत्ता लगाउन विज्ञ टोली तिलगाउँतर्फ

 संवाददाता    २०८२, १० जेष्ठ शुक्रबार १२:३६     325 जनाले पढ़िसके



Spread the love

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा पहिरोको कारण पत्ता लगाउन सरकारी विज्ञ टोली त्यसतर्फ गएको छ ।

लेदोसहितको पहिरो खसेको एक हप्तापछि सदरमुकाम सिमकोट पुगेको टोली त्यहाँबाट हिजो तिलगाउँतर्फ गएको हो ।

यही जेठ १ गते राति पहिरो खस्दा तिलगाउँमा क्षति पुगेको छ । पहिरो प्रभावित १८ घरपरिवार अहिले पनि त्रिपाल टाँगेर बसेका छन् ।

करिब पाँच हजार तीन सय मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले पहिरोको रुप लिएको प्रारम्भिक अनुमान छ । पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टी हुन बाँकी छ ।

पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिलगाउँमा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । पाँच वटा काठेपुल, ५०/५५ हेक्टर जमिन, ४ वटा सिँचाइ कुलो, खानेपानी र १५ किलोवाटको लघु जलविद्युतमा गरी पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको नाम्खा गाउँपालिकाले जनाएको छ ।

पहिरोबाट विस्थापित भएकाहरुलाई कर्णाली प्रदेश सरकारले हिजो राहत सामग्री पठाएको छ ।