कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादव पक्राउ;

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १९:३२     157 जनाले पढ़िसके



Spread the love

धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार २०८१ साल फागुन १७ गते दिउँसो १ बजे ४० वर्षीय यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवमाथि कुटपिट गरी घरबाट निकालेका थिए ।

त्यसयता हरिराम करिब ३–४ दिनदेखि सम्पर्कविहीन रहेको र उनको घरमा ताला लागेको सूचनाका आधारमा स्थानीयवासीले शङ्का जनाउँदै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले हरिरामको घरमा ताल्चा फोडी जाँच गर्दा भुईंतल्लामा रहेको कुल देवताको पूजा कोठामा नयाँ सिमेन्ट ढलान गरिएको पाइएको थियो । उक्त स्थानमा उत्खनन गर्दा करिब दुई फिट मुनिबाट नाङ्गो अवस्थामा अञ्जली यादवको शव फेला परेको प्रहरीको भनाइ छ ।

घटनापछि यादव करिब १० महिनाकी छोरीसहित फरार थिए । मृतक अञ्जलीका पिता शिवधारी यादवले आफ्ना ज्वाइँ हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि घटनामा प्रतिवादीको संलग्नता पुष्टि भएको थियो ।

जाहेरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति प्राप्त गरी खोजी जारी रहँदा २०८२ साल जेठ ८ गते बिहान ९ बजे जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेसनबाट प्रतिवादी यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र प्रतिवादीसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –