४० वर्ष भन्दा मुनीका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १०:३२     157 जनाले पढ़िसके



Spread the love

वर्तमान व्यवस्था विरुद्ध जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरुको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्ष भन्दा मुनीका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् ।

जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा’ दिइएको छ । सो कार्यक्रममार्फत युवाहरुमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरुको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए ।

राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नैपर्ने आवश्यक्ता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो ? हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजी गनुर्पर्ने कारण के हो ? आन्दोलनमा यूवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रुपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् । राप्रपाले बोकेका राजनीतिक एजेण्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरुले जिज्ञासा राख्नसक्ने गरि कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।

राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरुलाई आमन्त्रित गरेको छ । राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने राप्रपाले विश्वास लिएको छ। यसअघि पनि राप्रपाले प्रवुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरु आयोजना गरिरहेको छ ।