मौसम पूर्वानुमानलाई प्रत्येक नागरिकसमक्ष पुर्‍याउनु आवश्यकता रहेको बताए;ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का

 संवाददाता    २०८२, ८ जेष्ठ बुधबार १५:५६     189 जनाले पढ़िसके



Spread the love

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक नागरिकसमक्ष पुर्‍याउनु आजको आवश्यकता रहेको बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले बुधवार काठमाडौँमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको बताए । उनले ठूलो सङ्ख्यामा काम गर्ने मान्छेहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताए । मन्त्री खड्काले मौसम पूर्वानुमानबारे जानकारी समयमा भएको खण्डमा मानिसहरू सुरक्षित ठाउँमा जाने र बेलैमा सचेत हुन पाइने परिस्थिति निर्माण हुने जिकिर गरे ।

उनले यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न विभागलाई निर्देशन दिए । उनले मौसमसम्बन्धी जानकारीका विषयवस्तुलाई विद्यालय स्तरदेखि पुस्तक वा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए ।