सगरमाथाको चुचुरोमा राष्ट्रिय झण्डा फहराउँदै कविता;

 संवाददाता    २०८२, ८ जेष्ठ बुधबार १३:४२     198 जनाले पढ़िसके



Spread the love

डान्सर तथा अभिनेत्री कविता नेपालीले यसैसाता ८ हजारभन्दा अग्ला दुई हिमालको चुचुरो चुमिन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरिन् ।

एकदिनको अन्तरमा उनले दुई अग्ला हिमालमाथि प्राप्त गरेको विजयलाई लिएर सामाजिक संजालमा प्रशंसा भैरहेको छ ।

मंगलबार मात्रै कविताले सगरमाथा र ल्होत्से आरोहणका दुई आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् । दुवै हिमालको चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराइन् ।

उनले तस्वीर सेयर गर्दै मर्मस्पर्शी र प्रेरक क्याप्सन पनि लेखेकी छिन् । उनले हराइरहेको आफूलाई फेला पारेको प्रतिक्रिया दिएकी छन् ।

कविता लेख्छिन्, ‘यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन, यो सपना देख्नेहरू, गर्नेहरू र सीमाहरू भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो । सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यो जितभन्दा माथि थिएँ । म एक व्यक्तिको रूपमा हुर्किएँ । मैले सिकें र मैले आफ्नै टुक्राहरू फेला पारेँ, जुन कतै हराएको भन्ने मलाई थाहा थिएन ।’

कविताले निर्मल पुर्जाको आरोही दल एलिट एक्सिपिडिसनमार्फत हिमाल चढेकी थिइन् । उनीसँगै एकदर्जन विदेशी आरोहीले पनि वसन्तकालीन आरोहण गरे ।

कामको कुरा गर्दा, कविता अभिनित डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा सहभागी छ । उनले भारतका केही चर्चित नृत्य रियालिटी शोमा जितेकी छन् ।