लामिछानेको तर्फबाट पेसी तोकिनुअघि नै ती दुई अधिवक्तासहितका वकिलको नाम पेस,

 संवाददाता    २०८२, ६ जेष्ठ सोमबार १७:२२     422 जनाले पढ़िसके



Spread the love

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेसँगै हेर्न नमिल्ने निश्चित भयो । शर्माले अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा वकालत गरेका थिए ।

निरन्तर पाँचौँ पटक पनि हेर्न नमिल्ने भएपछि आइतबार उक्त इजलासले मिसिल खोल्यो । अर्को पेसी हेर्न नमिल्ने इजलासमा राख्न आदेश भयो । न्यायाधीशहरू सुनिलकुमार पोखरेल, अब्दुल अजिज मुसलमान, हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले लामिछानेको मुद्दा हेर्न नमिल्ने भएकाले तीबाहेकका न्यायाधीशकोमा पेसी पर्नेगरी गोला तान्न व्यवस्था सर्वोच्च प्रशासनले मिलायो ।

उक्त बन्दीप्रत्यक्षीकरण रिटसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिट पनि लगाउमा राखेर हेरिएको छ ।

तीनवटै रिटमाथि सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकियो । तर पुनः छैटौँ पटक पनि पेसी हेर्न नमिल्ने भयो ।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, अधिवक्त दिपेन्द्र झा, बद्री राउत, पुष्पराज पाण्डेयलगायत अधिवक्ताहरूको नाममा मुद्दा लड्न वकालतनामा अदालतमा पेस भएको थियो । सोमबार प्रधानन्यायाधीश राउत र पाण्डेयले सुनुवाइ सुरु गर्नका लागि मिसिल हेरे । तर केही समयमै उक्त मुद्दा हेर्न नमिल्ने प्रधानन्यायाधीश राउतले इजलाससमक्ष बताए ।

‘हिजो हेर्न नमिल्नेमा नपर्ने गरी पेसी तोक्न आदेश भएको थियो । फेरि हेर्न नमिल्नेमा कसरी पर्‍यो ?’ वरिष्ठ अधिवक्ता पन्तले सोधे । प्रधानन्यायाधीश राउतले हेर्न नमिल्नेबारे छोटकरीमा प्रस्ट्याए ।

वरिष्ठ अधिवक्ता पन्तले पुनः भोलि फेरि हेर्न नमिल्नेमा पर्ने शङ्का गर्दै प्रश्न गरे । न्यायाधीश पाण्डेयले आज पनि वकालतनामा हेरेपछि बल्ल हेर्न नमिल्ने भएको थाहा भएको जानकारी दिए । सामान्य सवालजवाफपछि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट हेर्न नमिल्ने भयो ।

आइतबार हेर्न नमिल्नेमा नपर्ने गरी आदेश भए पनि सोमबार पुनः हेर्न नमिल्ने हुनुको कारण भने लामिछानेको तर्फबाट बहस गर्न वकालतनामा राखिएका दुई वटा वकिलहरू बद्री राउत र पुष्पराज पाण्डेयका कारण भएको हो । उनीहरूमध्ये राउत प्रधानन्यायाधीश र पाण्डेय अर्का न्यायाधीश पाण्डेयको नातेदार परेकाले आज पनि उक्त मुद्दा हेर्न नमिल्नेमा गएको हो ।

लामिछानेको तर्फबाट पेसी तोकिनुअघि नै ती दुई अधिवक्तासहितका वकिलको नाम पेस गरेर सर्वोच्चमा वकालतनामा पेस भैसकेको थियो ।