सर्वाधिक आम्दानी गर्ने खेलाडीमा रोनाल्डो पहिलो

 संवाददाता    २०८२, ३ जेष्ठ शुक्रबार १४:२९     146 जनाले पढ़िसके



Spread the love

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष चर्चित म्यागजिन फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा परेका छन्।

आफ्नो करिअरमा उनी पाँचपटक सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा परेका छन्।

फोर्ब्सका अनुसार रोनाल्डोले आफ्नो अनुमानित कुल आम्दानी १ करोड ५० लाख डलरदेखि २७ करोड ५० लाख डलरसम्म बढाएको फोर्ब्सले बताएको छ।

४० वर्षीय रोनाल्डो सन् २०२२ मा साउदी प्रो लिग क्लब अल नासारमा आबद्ध भएका थिए। उनले सामाजिक सञ्जाल, फलोअर्स र प्रायोजन सम्झौताबाट सर्वाधिक आयआर्जन गरेका छन्।

उनको कुल आम्दानी सन् २०२५ मा २७ करोड ५० लाख डलर छ। अनफिल्ड (मैदानभित्रको) आम्दानी २२ करोड ५० लाख गरेका उनको अफफिल्ड (मैदानबाहिरको) आम्दानी ५ करोड डलर छ।

फोर्ब्सको सूचीमा अमेरिकाका बास्केटबल स्टार स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन्। उनी मार्चमा ४ हजार क्यारियर थ्री–प्वाइन्टर्समा पुग्ने पहिलो एनबीए खेलाडी बनेका थिए।

१५ करोड ६० लाख डलर कमाएपछि सर्वाधिक आम्दानी गर्ने खेलाडीमा उनी दोस्रो स्थानमा उक्लेका हुन्। उनको अनफिल्ड आम्दानी ५ करोड ६० लाख र अफफिल्ड आम्दानी १० करोड डलर छ।

बेलायती बक्सर टायसन फ्युरीले डिसेम्बरमा युक्रेनका ओलेक्सान्डर उसिकसँग विश्व हेभीवेट उपाधि गुमाए पनि १४ करोड ६० लाख डलर कमाउँदै तेस्रो स्थानमा उक्लेका छन्। उनको अनफिल्ड आम्दानी १४ करोड डलर र अफफिल्ड आम्दानी ६० लाख डलर छ।

अमेरिकाका डाक प्रिक्कोट १३ करोड ७० लाख कमाउँदै चौथो स्थानमा छन्।

चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी भने सर्वाधिक कमाइ गर्ने खेलाडीको सुचीमा पाँचौँ स्थानमा छन्। मेस्सीको कमाइ १३ करोड ५० लाख डलर छ। उनको अनफिल्ड आम्दानी ६ करोड र अफफिल्ड आम्दानी ७ करोड ५० लाख डलर छ।

छैटौँ स्थानमा १३ करोड ३८ लाख डलरसहित बास्केटबलका लिब्रोन जेम्स छन्। बेसबलका जुआन सोतो सातौँ स्थानमा रहँदा फ्रान्सका करिम बेन्जेमा १० करोड ४० लाख डलर आम्दानी गर्दै आठौँ स्थानमा छन्।

यता जापानका बेसबलका सोहेइ ओटानी १० करोड २५ लाख डलर आम्दानी गर्दै नवौँ र बास्केटबलका केभिन डुरान्त १० करोड १४ लाख डलर आम्दानी गर्दै शीर्ष १० मा स्थान बनाएका छन्।