जनताको करले तलब खान मनले नमानेको बताएकी गीताले वैशाखसम्मको सबै सुविधा लिइसकेको खुलासा

 संवाददाता    २०८२, १ जेष्ठ बुधबार ११:५३     69 जनाले पढ़िसके



Spread the love

रुपन्देही । मङ्गलवार राजीनामा सार्वजनिक गरेकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले वैशाख महिनासम्मको तलब भत्तासहितका सेवा सुविधा सबै बुझिसकेकी छन् तर उनको राजीनामा पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै भावनात्मक शब्दहरू उल्लेख छ ।

श्रीमान् कैलाश गुरुङमार्फत पार्टीमा पटक पटक मन्त्रीका लागि दबाब दिएकी उनले प्रदेश सभाबाट पाउने सबै सुविधाको रकम वैशाख महिनासम्मको सबै लिएको खुलेसँगै उनले सार्वजनिक गरेको भावनात्मक शब्द स्टन्ट मात्रै भएको सो पार्टीका नेताहरूले बताएका छन् । हाल बेलायतमा रहेकी गुरुङको खातामा पाउने सबै सुविधा गइसकेको छ ।

मङ्गलवार उनका श्रीमान् कैलाश गुरुङमार्फत उनले हस्तलिखित राजीनामा पठाएको भन्दै सार्वजनिक भएको थियो । मङ्गलवार नै श्रीमान् कैलाशले प्रदेश सभामा त्यो पत्र पुराउन हिँडेको पत्रकारलाई बताए पनि साँझसम्म दर्ता भने भएको छैन ।

प्रदेश सभा सदस्यले तलब बापत ५२ हजार २००, आवास १७ हजार, बिजुली एक हजार पाँच सय, सञ्चार दुई हजार गरी मासिक ७२ हजार ७ सय रुपैयाँ पाउने गरेकोमा उनले त्यो रकम वैशाखसम्म बुझेको प्रदेश सभाले जनाएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यमा चयन भएदेखि गुरुङले यो सुविधा बुझ्दै आएको जनाएको छ।

त्यसबाहेक बैठक भत्ता भने एक हजार रुपैयाँ पाउने गर्दछन् तर उनी अधिकांश बैठकमा सहभागी नभएकोले यो रकम कम रहेको छ । बैठकमा सहभागी भएपछि मात्रै यो सुविधा पाउने गरेकी थिइन्। पाँच वटा अधिवेशनसम्म ८३ वटा बैठक बसेका छन्।

जसमध्ये उनी जम्मा ३४ वटा बैठकमा सहभागी भएको पनि रेकर्डमा देखिएको जनमत पार्टी संसदीय दलका नेता सिके गुप्ताले जनाएका छन् । ‘दलको बैठकमा कहिले पनि आउनुभएन, सदनमा नि निकै कम सहभागिता छ, दुई महिनायता कुनै सम्पर्कमा हुनुहुन्न’ उनले भने ।

गुरुङको हस्ताक्षरमा मङ्गलवार सार्वजनिक गरेको राजीनामा पत्रमा ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु,’ उल्लेख गरिएपछि प्रदेश संरचनाको विरोध गर्नेहरूले राम्रो काम भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरेका थिए ।

लामो समय बेलायत बसेकी उनी निर्वाचनअघि त्यहाँबाट आएर जनमत पार्टीको समानुपातिक सांसदमा परेकी थिइन् ।

निकटस्थका अनुसार उनी अहिले पनि बेलायतै रहेको र त्यहीँबाट राजीनामा पठाएकी हुन् । उनको पार्टी जनमतका संसदीय दलका नेता सिके गुप्ता र पार्टी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले निर्वाचनको समयमा क्लष्टर मिलाउन गुरुङलाई राजनीतिक आधारबिना प्रदेश सभामा पठाएर ठूलो गल्ती भएको बताएका छन् ।

गीताका श्रीमान् कैलाश गुरुङले केही समयअघि जनमत छाडेर जसपामा प्रवेश गरेसँगै उनलाई पार्टी छाड्न दबाब बढेको थियो । मङ्गलवार पनि कैलाशले नै उनको राजीनामा पत्र सार्वजनिक गरेका हुन् ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन र सभामुख तुलाराम घर्तीले मिडियाबाट सार्वजनिक भएको राजीनामाले केही नहुने र त्यो औपचारिक दर्ता भएपछि मात्रै प्रक्रिया अघि बढ्ने जनाएका छन् ।

लुम्बिनीमा सरकारलाई समर्थन गरेको जनमत पार्टीमा तीन सांसद छन् । तर मन्त्री पाएको छैन । एमाले कांग्रेसबाट मात्रै मन्त्रिपरिषदमा सहभागिता रहेकाले एक मन्त्री साना दलमध्ये नाउपालाई दिने समझदारी यसअघि नै भएको छ । तर गुरुङले मन्त्री दाबी गरेपछि जनमतका नेताहरूलाई मिलाउन समस्या परेको हो ।

जनमत पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताका अनुसार उनले मन्त्री माग गरे पनि अहिलेसम्म पार्टीले नपाएको अवस्थामा हुन्छ भन्ने अवस्था नरहेको बताए । सरकारमा रहेका एक सांसदले उनको राजीनामा मन्त्रीको लागि बार्गेनिङ हुनसक्ने आशंका गरेका छन् ।

‘राजीनामा भनेर प्रचार भएको छ, प्रदेश सभामा दर्ता छैन, राजीनामाको ढाँचा पनि मिलेको छैन, सम्बन्धित सांसद देखिएको अवस्था पनि छैन अनि उनकै पार्टीका नेताहरू छिटो गरिदिनुपर्छ भनिरहेको अवस्थाले आशंका बढाएको छ’, उनले भने ।