काठमाडौं । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल आज दिउँसो साँढे १२ बजे शुरु हुनेछ । उक्त खेल जितेमा नेपालले एक खेल अगाबै सुपर तीनमा स्थान बनाउने छ । पराजित भए लगभग सम्भावना सकिने छ ।
नेपाल र हङकङबीच हालसम्म ९ खेल भएका छन् । जसमा ५ खेल नेपालले जितेको छ । अन्य खेलमा भने हङकङले नतिजा आफ्नो पक्षमा पारेको छ । यो वर्ष युगान्डमा भएको चारदेशिय सिरिजको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो । अर्को खेलमा भने ६ विकेटको जित हासिल गर्दै सानदार पुनरागमन गर्न सफल भएको थियो ।
नेपालले समूह को आफ्नो अन्तिम खेलमा जेठ १ गते बहराइनसँग खेल्ने तालिका छ । नेपाल हाल अंक तालिकाको शीर्ष स्थानमा छ । हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेलमा भने नेपालले बहराइन माथि ९ विकेटको जित निकालेको थियो । हङकङले भने आफ्नो दुवै खेलमा अंक बाँडेको छ । उसको बहराइनसँगको खेल पनि वर्षाको कारण रद्द भएको थियो ।
कुल ९ राष्ट्र सहभागी छनोटमा हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको शीर्ष टोलीले ’सुपर थ्री’ चरणमा स्थान बनाउनेछ । सुपर थ्रीमा पुगेका तीन टोलीमध्ये शीर्ष दुई टोलीले महिला टी–ट्वान्टी विश्वकप २०२६ को ग्लोबल छनोटमा स्थान बनाउने छन् ।