काठमाडौ । आज दुई हजार ५६९औँ बुद्धपुर्णिमा बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धपुर्णिमा मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धपुर्णिमाका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।
स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको छ । बुद्धको अस्तुधातु बुद्धपुर्णिमाका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध पुर्णिमा पर्व आज भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्वीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध पुर्णिमा मनाउने गर्दछन् । ईसापूर्व ५६३ अर्थात आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।