काठमाण्डौमा ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन हुने

 संवाददाता    २०८२, २९ बैशाख सोमबार १३:२१     79 जनाले पढ़िसके



Spread the love

काठमाण्डौमा ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन आउँदो जेठ १ गते हुने भएको छ ।

जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था र इन्जिनियरिङ अध्ययन सस्थानको संयुक्त आयोजनामा हुने सम्मेलनको मुख्य उद्देश्य सिँचाइ र कृषि क्षेत्रबीचको सहकार्यबाट खाद्य प्रणालीको रूपान्तरणमा पानीको भूमिका पहिचान गर्नुरहेको छ ।

साथै पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि गहन छलफल गर्नु र नेपाल सरकारको कृषि तथा सिँचाइ रणनीति र दिगो विकास लक्ष्य नम्बर १, २, र ६ सँगको समन्वयमा कार्यदिशा तय गर्नुरहेको जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक इन्जिनियर मित्र बरालले जानकारी दिनुभयो ।

उहाँले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, जल तथा ऊर्जा आयोग, अनुसन्धान केन्द्र, प्रादेशिक सरकार, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, निजी क्षेत्र, विज्ञ, किसान, सिँचाइ उपभोक्ता सङ्घका प्रतिनिधि, गैरसरकारी संस्था तथा नागरिक समाजको प्रतिनिधि रहने याे सम्मेलनमा विषयसँग सम्बन्धित कार्यपत्र र विशेष प्रवचन हुने बताउनुभयो ।

सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइ : अभ्यास र चुनौती छलफल हुने छ । नेपालको कृषि क्षेत्र, खाद्य सुरक्षा र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको छ ।

कृषि क्षेत्रले जनसङ्ख्याको ठूलो हिस्सालाई रोजगारी दिइरहेको तथा कुल गार्हस्थ्य उत्पादनमा झन्डै २५ प्रतिशत योगदान पुर्‍याएको छ । तर जलवायु परिवर्तन, पर्याप्त मात्रामा पानीको अभाव तथा उचित व्यवस्थापनमा कमीका कारणले चाहिएको बेला, चाहिएको मात्रामा, सबै सिँचाइयोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउन सकिएको अवस्था छैन, यसका लागि सिँचाइ प्रणाली व्यवस्थापनमा विशेष जोड दिनुपर्ने आवश्यकता महसूस गरिएको छ ।