एजेन्सी । अमेरिकाले युक्रेनलाई ३ अर्ब १० करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज स्वीकृत गरेको छ ।
लडाकु विमान सम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि विदेश मन्त्रालयले सो सहयोग दिने भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मत सम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश हुने पेन्टागनले जनाएको छ । सहयोगमा कुनै नयाँ विमान भने समावेश छैन ।
विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्र राष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ । यो सहयोग गत वर्ष डिसेम्बरमा स्वीकृत भई २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अर्को सम्झौता पछिको निरन्तरता हो ।
नेदरल्याण्ड, डेनमार्क, नर्वे र बेल्जियम जस्ता मित्र राष्ट्रहरूले हालसम्म युक्रेनलाई जम्मा ७९ वटा लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।