स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजलाई मन्त्रालयबाट दिइने कुनै पनि सुविधा नदिने चेतावनी दिनुभएको छ ।
आज मन्त्रालयमा चिकित्सक सङ्घसँग उनीहरूको मागका सम्बन्धमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता स्वरूप स्वास्थ्य मन्त्रालयको आठौं तह सरह भत्ता दिने भनेर निर्णय गरेको र यो निर्णय मान्नैपर्ने बताउनुभयो । यो निर्णय नमान्ने हो भने सम्बन्धन नै पनि खारेज हुने स्थिति आउने उहाँको चेतावनी छ ।
स्वास्थ्यमन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने पनि बताउनुभयो ।