नेपाली दूतावासले किट विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गर्‍याे

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार १६:०७     90 जनाले पढ़िसके



Spread the love

भारतमा रहेको नेपाली दूतावासले ओडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको घटनालाई लिएर विश्वविद्यालयसँग छलफल गरेको छ ।

आज बिहान किटका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफल गरिएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । किटमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय नेपाली विद्यार्थी प्रिसाको शव होस्टेलको कोठामा फेला परेको थियो ।

घटनाको बारेमा जानकारी पाउने बित्तिकै दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवम् ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क एवम् समन्वय भइरहेको जनाएको छ ।

नेपाली विद्यार्थी मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले पनि छानबिनका लागि कूटनीतिक पहल थालेको छ । यसैबीच भारतीय विदेश मन्त्रालयले विज्ञप्ती निकालेर प्रिसाप्रति शोक व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ ।

ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख छ । यसअघि गएको फागुनमा किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला पर्नुभएको थियो ।