चितवनको भरतपुरका ४ सय युवालाई लक्षित गरी सीपमूलक तालिम शुरु

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार १६:०१     115 जनाले पढ़िसके



Spread the love

भरतपुरका युवाहरुलाई लक्षित गरी सीपमूलक तालिम शुरु भएको छ । भरतपुरका १८ देखि ४० वर्षमुनिका ४ सय जना युवालाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षणसहित तालिम तीन महिना अर्थात तीन सय ९० घण्टा सञ्चालन हुनेछ ।

सीपमूलक तालिम अन्तर्गत कम्प्युटर मर्मत, मोबाईल मर्मत, कुक, वेटर, ब्युटिसियन, गार्मेन्ट, मेशिन अपरेटर, फेसन डिजाईनर, प्लम्बर, केयर गिभर, हाउस किपिङलगायत रहेका रोजगार शाखाका प्रमुख सन्देश वाग्लेले जानकारी दिनुभयो ।

नेपाल उद्यमी विकास परार्मश केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय, वल्र्ड लिङ टेक्निकल ट्रेनिङ इन्सिटिच्युट, नवरत्न टेनिकल ट्रेनिङ इन्सिटिच्युट, ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर, सिमेगा ह्युमन एकेडमी, एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले तालिमको सहजीकरण गर्नेछन् ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । उहाँले भरतपुरमा भौतिक पूर्वाधारको विकास मात्र नभई रोजगारी सिर्जना गर्नेतर्फ महानगर केन्द्रित रहेको बताउनुभयो । महानगरपालिकाले विगतमा पनि वडागत रूपमा चार हजारभन्दा धेरैलाई तालिम प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

मेयर दाहालका अनुसार आउँदा दिनमा मागमा आधारित १७ सय जना युवालाई विभिन्न किसिमको तालिम दिने तयारी छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले तालिमको सदुपयोग गर्न आग्रह गर्नुभयो ।