भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरण:घटनाका दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्याका विद्यार्थीले गरे विरोध प्रदर्शन

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार ११:५७     106 जनाले पढ़िसके



Spread the love

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी- किट) कलेजमा नेपाली छात्राको मृत्यु घटनाको नेपालका विद्यार्थीले पनि बिरोध गरेका छन्।

काठमाडौँको पद्मकन्या कलेजका विद्यार्थीले शुक्रबार बिहान घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। विरोध कार्यक्रम स्ववियुको नेतृत्वमा भएको हो।

प्रदर्शनमा सहभागीले कालो मास्क लगाएका थिए। प्रदर्शनमा सहभागी विद्यार्थीले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

केआईआईटी कलेजको छात्रावासमा बस्दै आएकी नेपाली छात्रा प्रिसा साह बिहीबार आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

यो घटनाको अनुसन्धान सुरु गरिएको त्यहाँकाे राज्य सरकारले जनाएको छ।

गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्।

प्रकृतिले आफूमाथि दुर्व्यवहार भइरहेको विषयमा कलेजमा धेरैपटक उजुरी दिँदा पनि सुनुवाइ नभएको पाइएको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरवाही ठहर गरेको थियो।

प्रिसा साहकाे मृत्यु घटनाकाे विषयमा भने त्यहाँकाे प्रहरीले थप विवरणा सार्वजनिक गरेकाे छैन।