शिक्षक महासंघको नेतृत्वविरुद्ध विद्यालय कर्मचारीको नाराबाजी

 संवाददाता    २०८२, १८ बैशाख बिहीबार १५:२७     167 जनाले पढ़िसके



Spread the love

सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ।

सरकार र महासंघबीच बुधवार भएको सहमतिबारे जानकारी दिन काठमाडौँमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजीसमेत गरे। त्यसअघि कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो।

विद्यालय कर्मचारीहरुले आफूहरुको माग समावेश नगरेको भन्दै प्रश्न उठाएका थिए। आफूहरुको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाएको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्।

सहअध्यक्ष पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीको उर्जाको प्रतिफल भएको दाबी गरिन्। त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने स्पष्ट पारिन्।

उनले आन्दोलन अझैपनि जारी रहेको र शिक्षक कर्मचारीको मागमा कुनैपनि हालतमा पछि नहट्ने प्रतिवद्धता व्यक्त गरिन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट छोटो समयमा पारित गर्ने र आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको उनको भनाई थियो।

विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबारमात्र सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए।