कोसी लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

 संवाददाता    २०८२, १८ बैशाख बिहीबार ११:२२     124 जनाले पढ़िसके



Spread the love

कोसी प्रदेश सरकारले आज पहिलोपटक लगानी सम्मेलन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ।

दुई दिनसम्म चल्ने लगानी सम्मेलनको प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको कोसी प्रदेश लगानी प्राधिकरण कार्यालयले जनाएको छ।

लगानी सम्मेलनमा कृषि, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रका ७१ परियोजनाका करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ। सम्मेलनमा विभिन्न देशका दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार, नेपालका उद्योगपति तथा प्रवासी नेपालीको सहभागिता रहने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाले जानकारी दिए।

लगानी सम्मेलनको माध्यमबाट आन्तरिक तथा बाह्य लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए।

लगानीको वातावरण निर्माण गर्न आवश्यक कानुनी संरचनाको अध्ययन, सरलीकरण तथा लगानीमैत्री नीतिहरूको संशोधन प्रक्रिया सुरु गरिएको उनको भनाइ छ।

लगानी सम्मेलन सफल बनाउन बुधबार ‘प्री मिट’ र ‘फ्लोअप मिटिङ’ समेत गरिएको छ। सहभागीहरूलाई लगानी प्रक्रिया तथा नीतिहरूको बारेमा जानकारी दिने उद्देश्यले ‘प्ल्याटफर्म मिटिङ’ आयोजना गरिएको थियो।

सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरु, चीन, भारत, अमेरिका, दक्षिण कोरिया लगायतका देशका प्रतिनिधि सहभागी हुनेछन्।