सत्य र न्यायका लागि पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्रीको आग्रह

 संवाददाता    २०८२, १४ बैशाख आईतवार १७:३१     143 जनाले पढ़िसके



Spread the love

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सत्य र न्यायका लागि पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छन् ।

शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सत्य र न्यायको पक्ष लिन पार्टीको सदस्यता त्याग्न अनुरोध गरेकी हुन् । विधिसम्मत बस्ने कि अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायामा बसिरहने भन्ने विषयमा छान्न अनुरोध गरिन् ।

बुईमा चढाएर सत्तामा पुर्‍याएका नेताहरूले नै दमन गरेको उनको भनाई छ । ‘जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई-चढाई सबैतिर पुर्‍याउनुभयो,आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले उहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला,’ उनले लेखेकी छन् ।

सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि शिक्षकहरूलाई कसरी हेर्छन् भन्नेबारेमा आजको घटनाबाट प्रस्ट भएको बताइन् ।

पहिले देशको व्यवस्था परिवर्तन गर्न विभिन्न काल खण्डमा योगदान दिएको बताउँदै व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न असफल भएको बताइन् । अब यो संस्कार परिवर्तन गर्नका लागि शिक्षकहरू सामेल हुनुपर्ने बताइन् ।