ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक भएको छ । एक जना सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बिहीबार सार्वजनिक भएको भिडियोबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गरिरहेको बेला दोस्रो भिडियो सार्वजनिक भएको हो । शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो आफूहरूले हेरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए । उनले भने, ‘भिडियो हाम्रो जानकारीमा छ, कताको हो भन्नेबारे बुझ्दैछौँ ।’
यसअघि सार्वजनिक भएको ४ जना ट्राफिक मिलेर एक जना सर्वसाधारणलाई कुटेको घटना २०८१ मङ्सिर २३ मा सुनधारास्थित आकाशे पुलमुनि भएको पाइएको छ । कुटपिटमा संलग्न जवान सहित घटनास्थलमा देखिएका ४ जनालाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा झिकाइएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘दिउँसो १ बजेतिर कुटपिट भएको रहेछ, त्यसबारे छानबिन गर्छौँ ।’