सिंहदरबारभित्र राणाकालीन दरबारजस्तो गृह मन्त्रालयको आधुनिक भवन तयार भएको छ। सबै महाशाखा अट्ने गरी निर्माण भएको पाँचतले भवनमा फिनिसिङको काम भइरहेको छ।
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र गृह मन्त्रालयको आधुनिक भवन केही फरक डिजाइनमा बनेको छ भने पूर्ण रुपमा आधुनिक सुविधायुक्त छ। चालू आर्थिक वर्षभित्रै गृह मन्त्रालय यो भवनमा सर्नेछ।
नयाँ भवन बेसमेन्टसहित ६ तलाको छ। यसमा १५ जना अट्ने २ वटा लिफ्ट राखिएका छन्। सेवाग्राहीका लागि २ वटा भर्याङ र अत्यावश्यक अवस्थामा प्रयोग गर्ने छुट्टै भर्याङ छन्।
मन्त्री, सचिव र कर्मचारीका लागि १०० बढी कोठा छन्। सबै कोठामा एसी सिस्टम, फायर फाइटिङ सिस्टम, हिट एन्ड स्मोक डिटेक्टर सिस्टम छ।
चौथो तलामा २०० क्षमताको सेमिनार हल छ।
‘निर्माण कम्पनी माउन्टेन इन्फ्रालाई जेठ १५ गतेसम्मको म्याद छ’, गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने, ‘भौतिक संरचना बनिसकेको छ। अहिले फिनिसिङको काम हुँदै छ।’
निर्माण कम्पनीले भवन सजावटको काम गरिरहेको उनले जानकारी दिए। यसबाहेक नयाँ भवनका लागि आवश्यक पर्ने टेन्डर आह्वान भइरहेको छ।
‘चालू आर्थिक वर्षभित्र नयाँ भवनमा सर्छौँ’, सहसचिव आचार्यले भने।
निर्माण कम्पनी माउन्टेन इन्फ्राको नेतृत्वमा भवन खडा भएको छ। यसको बेसमेन्ट एरिया २४३७ वर्गमिटर छ। जसमा ४३ कार पार्किङ गर्न मिल्छ भने ८० मोटरसाइकल पार्किङ गर्ने सुविधा छ।
ग्राउन्ड फ्लोरमा लाइब्रेरी, स्टोर, सर्भर रुम, खुल्ला लबीसहित ४० जना अट्ने बैठक कोठा छ। त्यसैगरी पहिलो तलामा गृहमन्त्री र राज्यमन्त्रीको लागि कोठा र बैठक कक्ष स्थापना गरिएको छ।
यसबाहेक मन्त्रीका लागि निजी कोठा, निजी सचिव, सल्लाहकार, स्वकीय सचिवसहितहरुका कोठा हुनेछन्।
दोस्रो तल्लामा गृहसचिव, महाशाखा प्रमुख र निजी कोठाहरु छन्। बैठक कक्ष, स्वकीयलगायत कर्मचारीका लागि समेत कोठा छन्।
तेस्रो तलामा शान्ति सुरक्षा महाशाखा, महाशाखा प्रमुखहरुको बैठक कक्षसहित कर्मचारीहरुका लागि कोठा छन्।
चौथो तलामा २०० व्यक्तिसहितको सेमिनार हल छ। अत्यावश्यक समयमा राति सुत्नका लागि समेत कोठा तयार भएको छ। आरसीसी फ्रेम स्ट्रक्चर प्रविधिबाट बनेको भवनमा ८ सामूहिक शौचालय छन्। जसमा पुरुष, महिला र अशक्त व्यक्तिलाई लक्षित गरिएको छ।
यसबाहेक २४ वटा निजी शौचालय समेत छन्।
निर्माण कम्पनी माउन्टेन इन्फ्राका अध्यक्ष अच्युत भण्डारीले समयसीमाभन्दा डेढ महिनाअघि नै काम सम्पन्न गरेको बताए।
‘कागजी रुपमा त जेठ १५ गतेसम्मको समयसीमा छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले निर्माणसम्पन्न गरिसकेका छौँ। अहिले सरसफाइको काम भइरहेको छ।’
नेपालमा समयमै निर्माण नसकिएको आरोप लाग्ने गरेकोमा समयअगावै काम सकेर देखाएको उनले बताए।
‘अब गृह मन्त्रालय कहिले सर्छ भन्ने विषयमा छलफल भइरहेको छ। संरचना तयार भइसकेका छन्’, उनले भने, ‘मन्त्रालयले केही तयारी गरेर छिट्टै सर्छ होला।’