रिहा भएलगत्तै भारत जाने तयारीमा राप्रपाका महामन्त्री राणा

 संवाददाता    २०८२, ८ बैशाख सोमबार ०८:३५     95 जनाले पढ़िसके



Spread the love

राप्रपाका महामन्त्री धवलशमशेर राणा भारत जाने तयारीमा रहेका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए ।

उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् ।

उनको फलोअपका लागि डाक्टरहरुले वैशाख १५ गतेको समय दिएको बताइएको छ ।

क्यान्सरको उपचारकै लागि भनेर प्रहरीले उनलाई गएराति रिहा गरेको थियो । उनलाई तीनकुने घटनामा संलग्न रहेको भनेर गत चैत १५ गते पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका थियो ।

चैत १५ गते नै राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै हिंसा भड्काउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरेको हो । उनको बयान सकिइसकेको छ भने आवश्यक परेको बेला उपस्थित गराउने गरी परिवारलाई जिम्मा जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ ।