‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम रेडपाण्डा तथा थार महोत्सव आयोजना गरेको छ ।
विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा हिजोदेखि महोत्सव आयोजना गरेको हो । दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव आजसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् ।
नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन् ।
महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कार–संस्कृति झल्कने झाँकी प्रदर्शनमा स्वतःस्फूर्त सहभागी भएका नगर कार्यालयले जनाएको छ ।
महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको समेत शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
किराँत उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङबाट रूपाकोटबाट बगरे भञ्ज्याङ, सिकुरी भञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामकरण गरिएको छ ।
खोटाङ र भोजपुरको सीमामा पर्ने ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।
पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यका रूपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन र नेपालीका लागि १० दिन लाग्ने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।