चैत १५ गते तीनकुनेको घरमा आगजनी दुर्गा प्रसाईं निकट समूह (एटीएफ) ले गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका एटिएफका प्रवक्ता रहेका रामेछापको सुनापाति गाउँपालिका १ का २२ वर्षका सरोज गौतम र एटीएफका सदस्य अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही रहेका छन्।
उनीहरूले नै उक्त घरमा आगो लगाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
एसपी बोहराका अनुसार गौतम दुर्गा प्रसाईंले प्रहरीलाई पेल्नेगरी अगाडि बढाएको गाडीमा पनि झुण्डिएका थिए। त्यहाँबाट फर्किएर घरमा आगो लगाएका उनी ढुंगामुडा र आगजनीमा संलग्न रहेको भिडिओ प्रहरीले फेला पारेको हो।
यस्तै शाही घरमा आगजनी गरिसकेपछि माओवादीको पार्टी कार्यालयमा तोडफोडका लागि पनि पुगेको खुलेको छ। उनले विभिन्न ठाउँमा आगजनी र तोडफोडमा पनि संलग्न रहेको खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई चैत १९ गते नै पक्राउ गरेको हो। पक्राउपछि अनुसन्धान कार्यालयले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको थियो।
त्यहाँ अनुसन्धान गर्दा अगो लगाउने गौतम र शाही भएको खुलेको हो। पक्राउ परेकै व्यक्तिहरूको मोवाइलमा आगो लगाउँदै गरेको भिडिओ फेला परेको हो।
आगो लगाउँदै गरेको भिडिओमा गौतम भन्छन्, ‘बल्यो बल्यो, हाम्रो आन्दोलन रोकिनेवाला छैन। दम भए छेकेर देखाउ।’
कागजमा आगो बालिरहेका उनीहरू त्यसपछि आगो झोसेर बाहिर निस्कन्छन्। आगो लगाउँदै गरेका उनीहरू दुई जना देखिए पनि त्यहाँ प्रदर्शनकारीको भीड देखिन्छ।
त्यो भन्दा माथिल्लो तलामा सोही आगोले जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो। एटिएफ सन्तोष राजावादीले बनाएका थिए। उनले आन्दोलनको दिन घुसपैठ गरेर अरुले नै आगोजनी गरेको आरोप लगाएका थिए। तर उनकै समूहले आगो लगाएको खुलेको हो।
प्रहरीले उनीहरूलाई आपराधि अपद्रव र संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि पक्राउ परिसकेका छन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र धवलशमशेर राणासहित ८२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।