त्रिविका उपकुलपतिको राजीनामा प्रधानमन्त्रीले गरे स्वीकृत

 संवाददाता    २०८१, २७ चैत्र बिहीबार १५:४४     63 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बरालले स्वास्थ्यको कारण देखाउँदै दिएको राजीनामा ओलीले बिहीबार स्वीकृत गरेका हुन्।

बरालले चैत १५ गते उपकुलपति प्राडा बरालले पदबाट राजीनामा दिएका थिए।
उनले सचिवालयका कर्मचारीमार्फत राजीनामा बुझाएका थिए। ओली प्रधानमन्त्री भएयता उनीसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन।

गत मंसिर २७ गते प्रधानमन्त्री ओलीले सिनेट बैठकमै ‘त्रिविको स्वायत्तता व्यक्तिगत होइन, मेरिटोक्रेसीका नाममा नाटक चल्दैन’ भनी टिप्पणी गरेका थिए। त्यतिखेर डिन र क्याम्पस प्रमुखहरूको नियुक्तिमा विवाद चलिरहेको थियो।

ओलीले भनेका थिए, ‘त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ। त्यसका नाममा ड्रामा चल्नुहुँदैन। कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ। सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ। मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु।’

त्यस्तै विश्वविद्यालयको बजेट तथा कार्यक्रममा पनि उनीहरूबीच यस्तै विवाद भएको थियो। छिल्लोपल्ट आंशिक प्राध्यापकहरूले स्थायी नियुक्तिको माग गरी दबाब दिइरहेका थिए।

बराललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा ०८० फागुन १० गते त्रिविको उपकुलपति नियुक्त गरिएको थियो।