डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका-६ दल्लेखमा चट्याङ लागेर सोही ठाउँकी ३२ वर्षीया कमला नागरीको मृत्यु भएको छ। उनका ३ महिने शिशुसहित परिवारका ४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार नागरीका १० वर्षीया छोरी तारा, ८ वर्षीया छोरा अभिषेक, ६ वर्षीय छोरा अबी र ३ महिनाका छोरा शंकर घाइते भएका छन्।
यस्तै, चट्याङ लागेर नागरीकी ३ जना छिमेकी पनि घाइते भएका छन्।
४० वर्षीया तारा नागरी, ८० वर्षीय काली दमाइ र ६ वर्षीया खुसी नागरी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि अहिले जिल्ला अस्पताल डोटी ल्याइदै गरेको प्रहरीले जनाएको छ।
बझाङको बित्थड चिर गाउँपालिका–३ की ७८ वर्षीया धौली देवी बोहराको चट्याङ लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरको भान्सा कोठामा खाना पकाउँदै गर्दा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
मृतक बोहराका नातिनीहरु १४ वर्षीया जस्मा र १३ वर्षीया पवित्रा घाइते भएका छन्।