रवि पक्राउविरुद्ध मानव अधिकार आयोग जाँदै रास्वपा

 संवाददाता    २०८१, २६ चैत्र बुधबार ११:४८     154 जनाले पढ़िसके



Spread the love

सभापति रवि लामिछानेकाे पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आज राष्ट्रिय मानव अधिकार आयोग जाँदै छ।

सभापति रविको पक्राउ गैरकानुनी भएको र पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको दाबी गर्दै रास्वपाको टोली मानव अधिकार आयोगको कार्यालय जाने भएको हो।

बिहान साढे ११ बजेपछि आयोगको कार्यालय पुग्ने कार्यक्रम रहेको रास्वपा सचिवालयले जनाएको छ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यही चैत २२ गते थुनामै राख्न आदेश दिएपछि सभापति लामिछाने काठमाडौँस्थित निवासबाटै पुन: पक्राउ परेका थिए।

उक्त दिन रातभर काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रविलाई चैत २३ गते बिहानै रुपन्देही पुर्‍याइएको थियो।

तर २ दिन सार्वजनिक बिदा परेकाले प्रहरीले उनलाई चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरेको थियो। अनि अदालतले थुनुवा पुर्जी दिएपछि लामिछानेलाई त्यही दिन रुपन्देही जिल्ला कारागार चलान गरिएको थियो।

सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि यसअघि रुपन्देही जिल्ला अदालतको आदेशअनुसार गत माघ १३ गते १ करोड धरौटीमा रिहा भएका थिए।

तर त्यही मुद्दामा छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश हुँदा रविलाई भने बाहिर राख्न नमिल्ने भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

त्यसमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यही चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै थुनामै पठाउन आदेश दिएलगत्तै रवि पक्राउ पुन: परी कारागार चलान भएका हुन्।

त्यसको २ दिनपछि आजै रास्वपाले सचिवालय बैठक पनि राख्दै छ।

यसअघि रवि पहिलोपटक गत कात्तिक २ गतेदेखि पक्राउ पर्दा पनि मानव अधिकार हनन भएको भन्दै उनकी पत्नी निकिता पौडेल राष्ट्रिय मानव अधिकार आयोग गुहार्न पुगेकी थिइन्।