धनुषाको मुखियापट्टीमा दर्ता नभएका विद्यालय बन्द

 संवाददाता    २०८१, १८ चैत्र मंगलवार १३:१४     189 जनाले पढ़िसके



Spread the love

चैत १९ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयहरू बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले न्यू स्काई, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशाला लगायत ११ वटा बिना दर्ताका निजी विद्यालय मङ्गलबार बन्द गरिएको बताउनुभयो ।

गाउँपालिकाको कार्यपालिका समितिको निर्णयअनुसार पालिकाभित्र गैरकानुनी रूपमा सञ्चालित निजी विद्यालयहरु बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति बिना सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयहरूलाई पटक–पटक बन्द गर्न आग्रह गरिए पनि उक्त विद्यालयहरूले पालिकाको निर्देशन नमानेपछि अन्ततः गाउँपालिकाको निर्णयअनुसार ती विद्यालयहरूमा तालाबन्दी गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाभित्र आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापनको अधिकार स्थानीय तहलाई हुने व्यवस्था छ । यसैअनुरूप स्थानीय तहले शिक्षाको गुणस्तर सुधार गर्न यो प्रयास गरिएको अध्यक्ष यादवको भनाइ छ ।

अध्यक्ष यादवले अभिभावकलाई गैरकानुनी रूपमा सञ्चालित विद्यालयहरूमा आफ्ना बालबालिकालाई भर्ना नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले विद्यालय सञ्चालकहरूलाई कानुनी प्रक्रिया पूरा गरी मात्र विद्यालय सञ्चालन गर्न अनुरोध गर्दै पालिकाको निर्णयको अवज्ञा गर्ने विद्यालयहरूप्रति कठोर कदम चाल्ने चेतावनी दिनुभयो ।