ललितपुरमा २५ वर्षीय एक युवकले ३० वर्षका अर्का युवकको हत्या गरेका छन्। महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचुहाइट बस्दै आएका ३० वर्षीय रिपक खातीको धारिलाे हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए। ‘गएराति पौने १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले खुकुरीले घाँटीमा प्रहार गर्दा खातीको घटनास्थलमै मृत्यु भएको हो,’ एसपी रेग्मीले भने, ‘घटना लगत्तै पुगेको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको छ।’
हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन्। मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ।
खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आराेपीले प्रहरीलाई दिएका छन्।