काठमाडौं । झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा एक जना महिला मृत अवस्थामा भेटिएकी छन् । उनका श्रीमान् पनि घाइते अवस्थामा भेटिएका छन् ।
ताप्लेजुङको सिलाम स्थायी घर भई कनकाई नगरपालिका–५ बस्दै आएकी ४० वर्षीय मनीषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन् । त्यहाँ खुकुरी प्रहार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट प्रहरीको टोली पुगेको थियो ।
घटनास्थलमा प्रहरीको टोली पुग्दा मृतक महिलाका श्रीमान् अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की पनि घाँटीमा चोट लागेको अवस्थामा फेला परेका थिए । तत्काल घटनास्थललाई सुरक्षित गरेर थप जाँचका लागि सार्कीलाई अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार, मग्रान्ती सलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् भने पछि पासो खोलेको जस्तो देखिएको प्रहरीको तर्क छ । प्रहरीले ‘धारिलो हतियार प्रहार भएको नदेखिएको’ भनेको छ, भने श्रीमानको घाँटीमा धारिलो हतियार रेटिएको फेला परेको बताइएको छ ।
घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ ।