ललितपुरबाट शृङ्खलाबद्ध हत्या र लुटपाटमा संलग्न एक जना पक्राउ

 संवाददाता    २०८१, १ चैत्र शनिबार ११:५१     119 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – हत्या, शृङ्खलाबद्ध चोरी तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न ठाउँमा चोरीमा संलग्न तामाङलाई हिजो ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो ।

विकास, मोटे, अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका ४१ वर्षीय तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डौमा डलर ठगी, ललितपुरमा डाँका चोरी तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा शान्ति सुव्यवस्था तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई होटलमा हातखुट्टा र मुखमा टेपले बाँधी गरगहना र नगद लुटी हत्या गरी फरार भएका थिए ।

तामाङले काभ्रेको धुलिखेल, पनौती,बनेपालगायतका ठाउँबाट मोबाइल, नगद, गरगहना र विभिन्न धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

लुटपाटका घटनामा तामाङ र उनको दाई वीरबहादुरसहित चार जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनामा संलग्न वीरबहादुरसहित उदयपुरका ३७ वर्षीय राजुकुमार दनुवार, ओखलढुङ्गाका ५२ वर्षीय महेशकुमार खड्कालाई विभिन्न समयमा पक्राउ गरी कानूनी कारबाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

मुख्य योजनाकार बुद्धिमानको कान्छो भाइ चमेरे भन्ने शिवकुमार तामाङ गुल्मी हत्या कसुरमा पुर्पक्षका लागि अहिले कारागारमा रहेका छन् ।

हिजो पक्राउ परेका बुद्धिमानलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको ब्यूरोले जनाएको छ ।