नेपाली चेस टोली श्रीलंका प्रस्थान

 संवाददाता    २०८१, २६ फाल्गुन सोमबार १३:२८     117 जनाले पढ़िसके



Spread the love

वोर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.२ चेस च्याम्पियनसिप – 2025 प्रतियोगितामा सहभागीता जनाउन नेपाली चेस टोली श्रीलंका तर्फ प्रस्थान गरेका छन्।

 

आयोजक राष्ट्र श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी बिच प्रतिस्पर्धा हुने एशियन जोनल ३.२ जोनल कोलम्बो स्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्च देखि १८ मार्च सम्म सञ्चालन हुनेछ।
नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनको हैसियतमा २५ औं नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र १० औं महिला नेपाल च्याम्पियन सिन्दिरा जोशीलाई हवाई टिकटको सुविधा सहित अन्य सम्पूर्ण खर्च उपलब्ध गराउदै सहभागी गराएका छन् । स्पर्धामा नेपाल द्वितीय पुरुषोत्तम सिलवाल भने दर्ता शुल्क बाहेक अन्य आफ्नै खर्चमा गएका छन्।

दक्षिण एशियाली देशको प्रतिष्ठित खेलमा बंगलादेशका २४३१ रेटेड आईएम रहमान मोहम्मद, रेजा नीर, २४०२ रेटेड श्रीलंकन आईएम रानीन्दु दिलसान, २३५१ रेटेड आईएम थिलकरथ्ने, पाकिस्तानका २१३१ रेटेड खालिद मफाज, माल्दिभ्सका २१०७ रेटेड पेसन्दु रस्मिता, भुटानका १६१२ रेटेड सिद्धार्थ भण्डारी सहित ३६ जना खेलाडी सँग नेपाली दुई शीर्ष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
महिला विधा तर्फ १७४३ रेटेड सिन्दिरा जोशीले श्रीलंकन २१२१ रेटेड डब्लू आईएम डेभिन्ड्या ओसिनी, २०९७ रेटेड बंगलादेशी डब्लू एफएम वाहिदा अहमद, पाकिस्तानका १७११ रेटेड ड्लू एफएम जेनोविया वासिफ, माल्दिभ्सका १६२१ डब्लू सिएम निहाया अहमद, भुटानका १४५७ रेटेट येसे ल्हादेन सहित २१ जना सँग प्रतिस्पर्धा गर्नेछन्।

 

 

श्रीलंकाको राजधानीमा सम्पन्न हुने ९ चरण स्टाण्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागी ९० मिनेटको समय निर्धारण गरेकोछ भने ३०मिनेट३० सेकेण्ड इन्क्रिजमेण्ट थप हुने प्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन्।
वोर्ल्ड चेस फिडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र ६ महिला खेलाडीहरुले ६१५० युएस डलर बराबरको पुरस्कार बाड्ने छन्। जसमा पुरुष तर्फ क्रमशः १ हजार ५ सय, १ हजार, ५ सय, ३ सय, २ सय र १ सय ५० डलर प्राप्त गर्नेछन् भने महिला तर्फका विजेताले १ हजार, ६ सय , ४ सय, २ सय ५० र १ सय डलर पुरस्कार पाउने छन्।

 

यसैबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले सहभागी हुने नेपाली बुद्धिचाल शीर्ष खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदवाट विदाई गरेका छन्। उनले विदाई गर्ने क्रममा बुद्धिचाल महासंघले राम्रो गतिविधि गरिरहेको र यसलाई खेलाडीले राम्रो परिणाम निकाल्न अभिप्रेरित गर्ने धारणा समेत राखेका छन्।

 

 

कार्यक्रममा महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरम बहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, सदस्य प्रतिमा महत, शुशिला गुरुङ, फिडे आर्विटर सोराज ताम्राकार लगायतले शुभकामना दिदै विदाई गरेका छन्।