दुबईबाट १ केजी सुन ल्याएबापत ‘भरिया’लाई ५ सय डलर, चन्द्रागिरिमा घुमघाम

 संवाददाता    २०८१, २१ फाल्गुन बुधबार १०:३६     105 जनाले पढ़िसके



Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वाकथ्रु गेट पार गरिसकेका ४ जना उज्वेकिस्तानका नागरिक फागुन १४ मा साँझ पक्राउ परे । पक्राउ गरेको करिब ३ घण्टाको प्रयासपछि आरोपीहरूले मलद्वारमा लुकाएर ल्याएको सुन प्रहरी अधिकृतहरूले बरामद गरेका हुन् ।

३ जना महिलाको शरीरबाट ३ केजी ७४५ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र राठौरले बताए । ४१ वर्षीय तुरसुनोभ सारदोर चाहिँ सुनको मालिक भएको अनुसन्धान अधिकृतहरूको आशङ्का छ । सारदोरको साथमा भने सुन भेटिएन ।

सुन ल्याउनेमा उज्वेकिस्तानको तास्केन्त सिटीमा बस्दै आएका ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमिदा र ५४ वर्षीया मारिफालिभा दिलफुला छन् । तीनैजना फ्लाई दुबईको एउटै उडानमार्फत नेपाल आएका हुन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीका गर्न भनेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

विमानस्थल भन्सार कार्यालयका उपसचिव अर्जुन न्यौपाने नेतृत्वको टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ । विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराम निरौला भन्छन्, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेका छौँ ।’

३ केजी ४७५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
तास्केन्तबाट दुबई हुँदै नेपाल आएका उनीहरू सामान्य महिला हुन् । उमिदा र दिलफुला एउटै परिवार भित्रका दिदी बहिनी हुन् । अर्की आरोपी साउदत्तले लुकाएर ल्याएको १ केजी ३३ ग्राम सुनको मालिक पुरुष व्यक्ति सारदोर भएको प्रहरी अधिकृतहरूको आशङ्का छ । विमानस्थल सुरक्षा कार्यालयले विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । तर, सारदोरले चाहिँ त्यसबारे अस्वीकार गरेका छन् ।

आफूले मलद्वारमा लुकाएर ल्याएको सुन दुबईबाट कसले पठाएको र सँगै आएका पुरुषको ‘कनेक्सन’बारे साउदत्तले केही बताएकी छैनन् ।

उमिदा र दिलफुजाले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘पुरुष व्यक्ति सारदोरसँग हाम्रो सम्बन्ध छैन, फ्लाइटमा संयोगले सँगै परेका हौँ ।’ प्रहरीले उमिदाको साथबाट १ केजी २०५ ग्राम र दिलफुजाको साथबाट १ किलो २१ ग्राम सुन बरामद गरेको छ ।

‘भरिया’लाई ५ सय डलर
मलद्वारमा लुकाएर लिएर आएका तीनैजना महिला सामान्य परिवारका हुन् । सुन ल्याउने साउदत्त शारीरिक रूपमा अशक्त छिन् । दुबईबाट काठमाडौँसम्म सुन बोकेर गएबापत उनीहरूलाई ५ सय डलर दिने आश्वासन तस्करले दिएको अनुसन्धानबाट थाहा भएको छ । पाँच सय डलरको नेपाली रुपैयाँ करिब ७० हजार हुन्छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृत भन्छन्, ‘काठमाडौँसम्म सुन ल्याएबापत एक जनालाई ५ सय डलर दिन्छु भनेर तस्करले भनेका रहेछन् ।’

नेपालमा पुगेपछि होटलमा पैसा नलाग्ने र चन्द्रागिरिमा घुमाइदिने सर्तमा उनीहरू दुबईबाट मलद्वारमा सुन लुकाएर नेपाल आएको भेटिएको छ । अनुसन्धान अधिकृत भन्छन्, ‘चन्द्रागिरि घुमाउने र होटल खर्च नलाग्ने भनेर तस्करले आरोपीहरूलाई सुनको भरियाको रूपमा प्रयोग गरेको देखिन्छ ।’

दुबई विमानस्थलमा वाकथ्रु गेट पार गरिसकेपछिको शौचालयमा गएर उनीहरूले मलद्वारमा सुन लुकाएका हुन् । भन्सार कार्यालयका एक जना अधिकृत भन्छन्, ‘तस्करले वाकथ्रु गेट पार गरिसकेपछि शौचालयमा लगेर सुन लुकाउन लगाउने रहेछन् ।’

तस्करले उनीहरूलाई ‘कोड भाषा’ दिएर पठाउँछन् । काठमाडौँ विमानस्थलमा आएपछि पार्किङमा ‘कोड भाषा’ भन्नेसँग जान र सुन दिन उनीहरूलाई भनिएको हुन्छ ।

आरोपीहरू यसअघि पनि पटक–पटक नेपाल आएको भेटिएको छ । साउदत्त चौथोपटक काठमाडौँ आएकी हुन् । उमिदा तेस्रो पटक काठमाडौँ आएकी हुन् । दिलफुजा भने यसपटक मात्रै काठमाडौँ आएको ट्राभल हिस्ट्री भेटिएको छ ।

पुरुष भन्छन्, ‘मेरो बिजनेस छ’
यसअघि पनि पटक–पटक नेपाल आएका ४१ वर्षीय तुरसुनोभ सारदोरले चाहिँ आफू व्यापारको लागी नेपाल आउने गरेको बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘मेरो व्यापार छ ।’

सारदोर अहिलेसम्म कत्ति पटक नेपाल आएर फर्किए भन्ने विवरण विमानस्थल अध्यागमन कार्यालयसँग माग गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।