काठमाडौं । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीसहित अवकासप्राप्त तीन कर्मचारी पक्राउ परेका छन् ।
पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसला ८ वर्षपछि उल्टाउँदै सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।
सर्वोच्चले गत माघ ३० गते दोषी ठहर गरेका पूर्वप्रमुख जिल्ला अधिकारी जोशी सहित पूर्वस्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठ र पशुपति विकास कोषका पूर्वनिर्देशक राजुकुमार रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पशुपति विकास कोषमातहतको गोठाटारस्थित ५ सय ३४ रोपनी जग्गामा अवैध रूपमा रुख कटान गरी बालुवा तथा माटो उत्खनन गरेर भ्रष्टाचार गरेको मुद्दामा उनीहरु दोषी ठहर भएका थिए ।
सर्वोच्चले माघ ३० गते पशुपति विकास कोषका तत्कालीन सदस्य–सचिव निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको हो । आरोपीमध्ये अझै ६ जना फरार छन् । उनीहरूको खोजी भइरहेको सीआईबीले जनाएको छ ।