काठमाण्डौमा सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना

 संवाददाता    २०८१, १७ फाल्गुन शनिबार २०:४३     100 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराउने भएको छ । महानगरको वातावरण विभागकाअनुसार महानगर क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक ठाउँमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गर्ने भएको हो ।

महानगरको वातावरण विभागका प्रमुख सरिता राईकाअनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा जथाभावी फोहोर फाल्नेलाई प्रतिबन्ध गरिएको हो ।

महानगरको आग्रहलाई बेवास्ता गरी सार्वजनिक ठाउँमा फोहर फालेको अनुगमन टोलीले भेटे काठमाण्डौ महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन अनुसार कारबाही गर्ने पनि स्पष्ट पारेको छ ।

यसैबीच काठमाण्डौ महानगरले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा छ वटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । अहिले वडा नम्बर ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ ।