जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले भने: ‘धेरै साहसी मानिस’

 संवाददाता    २०८१, १६ फाल्गुन शुक्रबार १५:३०     116 जनाले पढ़िसके



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा स्वागत गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्।

उनले जेलेन्स्कीका लागि ‘धेरै सम्मान’ भएको बताए।

बीबीसीले उनलाई हालै जेलेन्स्कीलाई ‘तानाशाह’ भनेकामा माफी माग्नुहुन्छ कि भनेर सोधेको थियो।

जवाफमा ट्रम्पले आफूले त्यस्तो भनेँ होला भनेर विश्वासै नलागेको बताए।

उनले जेलेन्स्कीलाई ‘धेरै साहसी मानिस’ भनेका छन्।

युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने विषयमा बेलायती प्रधानमन्त्री कियर स्टारमरसँगको वार्तापछि ट्रम्पले जेलेन्स्केकी तारिफ गरेका हुन्।

ट्रम्पले शुक्रबार जेलेन्स्कीसँग ह्वाइट हाउसमा हुने भेटघाट निकै राम्रो हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि ट्रम्पले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्की अमेरिका आउने आशा व्यक्त गरेका थिए भने जेलेन्स्कीले पनि आफू ट्रम्पलाई भेट्न शुक्रबार त्यसतर्फ जाने सम्भावना रहेको बताएका थिए।

युक्रेनले अमेरिकालाई खनिज दिने सम्बन्धमा दुई देशबीच प्रारम्भिक सम्झौता भएको छ।

अमेरिकालाई दुर्लभ खनिज दिने सम्बन्धमा सहमति जनाए पनि युक्रेनले कति मूल्यको खनिज दिने हो भन्ने खुलेको छैन। यद्यपि, ट्रम्पले पहिले ५ सय अर्ब डलरको खनिज चाहिने माग गरेका थिए। त्यसबाट पनि अमेरिका पछि हटेको बताइएको छ।

तर, यो सम्झौताका सर्तहरूले अमेरिकालाई ज्यादा फाइदा हुने बताइएको छ।

युक्रेनसँग १.९ करोड टन ग्रेफाइट भण्डार छ। जुन ईभीका लागि ब्याट्री बनाउन प्रयोग हुन्छ।

त्यस्तै युरोप लिथियम भण्डारको एकतिहाइ युक्रेनमै छ। जुन आजभोलि प्रयोगमा रहेका ब्याट्री निर्माणमा उपयोगी हुन्छ।

त्यसबाहेक हतियार, टर्बाइन्, विद्युतीय सामग्री आदि बनाउन आवश्यक पर्ने दुर्लभ खनिज पनि युक्रेनसँग छ।

युद्ध सुरु भएपछि रुसले ३५० अर्ब डलरभन्दा बढी खनिज भण्डार कब्जा गरेको युक्रेनको दाबी छ।