शिवरात्रिमा पशुपति क्षेत्रबाट १० थान मोबाइल चोरेको आरोपमा २ जना पक्राउ

 संवाददाता    २०८१, १६ फाल्गुन शुक्रबार १२:५३     60 जनाले पढ़िसके



Spread the love

शिवरात्रिमा पशुपति क्षेत्रबाट १० थान मोबाइल चोरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाको गोरखा नगरपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने ३१ वर्षीय विजय मगर र गोरखाकै बारपाक गाउँपालिका–४ घर भई गोंगबु नै बस्ने ३४ वर्षीय अभिषेक गुरुङ छन् ।

 

उनीहरुलाई बालाजु बसन्तपुर गुम्बा नजिकको अस्थायी प्रहरी बिटबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट १० थान मोबाइल, ४ हजार नगद र एउटा झोला प्रहरीले बरामद गरेको छ ।

उक्त मोबाइल शिवरात्रीको दिन पशुपति क्षेत्रमा आएका भक्तजनहरुको रहेको छ । यो समूहले भीडभाडको मौकामा उक्त मोबाइलहरु चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालाबाट अनुसन्धान अघि बढाइएको छ । काठमाडौं जिल्ला अदालतबाट चोरीको कसुरमा उनीहरुविरुद्ध ५ दिनको म्याद थप भएको छ ।