फ्रान्स प्रस्थान गर्दै साम्बाले भनिन्: नेपाललाई टेक्निकल कोच चाहिन्छ

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १६:४९     53 जनाले पढ़िसके



Spread the love

नेपाली महिला राष्ट्रिय टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स प्रस्थान गरेकी छन्। चार दे‍शीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेर साम्बा आज फ्रान्स प्रस्थान गरेकी हुन्।

च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल आएकी साम्बा बिहीबार फ्रान्सको पेरिस प्रस्थान गरेकी हुन्। बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा म्यानमारसँग २-० गोलअन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।

उनले फाइनलमा पराजित हुँदा दु:ख लागे पनि धेरै कुरा सिकिएको बताइन्।

‘समग्रमा चार महिनापछि राष्ट्रिय टिममा फर्किन पाउँदा हामी खुसी थियौँ त्यहीनुसार फाइनलमा पुग्यौँ, हामीले फ्यानको मायाँ फेरि उस्तै पायौँ,’ उनले भने, ‘यसपटकको खेलबाट नयाँ जेनेरेसनमा राम्रो म्यासेज गएको छ। हाम्रो बच्चालाई पनि फुटबल खेलाउनुपर्छ भन्ने भएको छ।’

मैदानमा फुटबल विकासका लागि केके सुधार गर्नुपर्छ भन्ने जानकारी थप भएको पनि उनले सुनाइन्।
खेलपछि बुधबार साँझ खेलाडी र प्रशिक्षकहरूको समूह बसेर कमजोरीबारे छलफल भएको उनले बताइन्।

‘खेलपछि बैठक गरेर खेलाडी र कोच टिमले छलफल गरियो। हाम्रो कमजोरीलाई कसरी सुधार गर्ने छलफल भयो,’ उनले भनिन्, ‘एन्फाका अध्यक्षहरूसँग बिहान कुरा भयो उहाँहरूले पनि आउने प्लानिङबारे कुरा गर्नुभयो। हाम्रो गुनासो पनि राख्यौँ।’

उनले च्याम्पियनसिपमा सुरुका दुई खेलमा आफू लयमा फर्किन नसकेको स्वीकारिन्।
‘सुरुका दुई खेलमा म आफ्नो फर्ममा आउन सकिनँ। आउने दिनहरूमा सुधार गरेर राम्रो गर्नेछु,’ उनले भनिन्।

छोटो समयमा टिम तयार भएको र टिमसँग घुलमिल हुन नपाउँदा पनि आफूले सोचेअनुसार खेल्न नसकेको उनको भनाइ छ।

पाँच महिनामा दोस्रो फाइनल हारियो किन? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भनिन्, ‘यस्तो हार कयौँ सिनियर प्लेयरले भोग्नुभयो। त्योभन्दा कयौँ हामीले भोग्यौँ। प्लेयरको प्यासन लेभल पुगेको छैन कि। ग्रुप स्टेजमा खेले जस्तै फाइनलमा खेल्न सकेका छैनौँ। आगामी दिनमा यसलाई सुधार्छौँ।’

रेनुका नगरकोटे बुधबार सम्पन्न च्याम्पियनसिपको उत्कृष्ट खेलाडी घोषणा हुँदा उनीभन्दा टिमका अन्य सदस्य खुसी भएको साम्बाको भनाइ छ।

‘उहाँ पहिलेदेखि नै उत्कृष्ट हो। उहाँ सबैको रोलमोडल बनिरहनु भएको छ,’ उनले भनिन्, ‘पहिलेदेखि नै यस्तो अवार्ड डिजर्ब गर्नुहुन्छ। हामी सबै टिम खुसी छौँ उहाँले पाउँदा। उहाँभन्दा बढी हामी खुसी छौँ।’

जुन जुलाइमा हुने क्वालिफायरको तयारी कस्तो छ? भन्नेबारे उनले टेक्निकल कोचको आवश्यकता भएको बारे सुनाइन्।

‘महिला फुटबलमा नेपाली हेडकोच हुँदा केही समस्या छैन तर टेक्निकल कोच भए हुन्थ्यो। भिडियो एनलाइस्ट स्टाफ राखिदिए कमिकम्जोरी हेरेर हामीले राम्रो गर्न सक्थ्यौँ’ उनले भनिन्,’बिहान एन्फाका नेतृत्वलाई हाम्रा भन्यौँ उहाँहरू पोजेटिभ हुनुहुन्छ। वल्डकपको ढोका खुला गर्न हामी आतुर छौँ।’

साम्बाले मैदानमा पहिलोपटक बावुलाई ल्याएर आफ्नो खेल देखाउन पाउँदा खुसी लागेको बताइन्।

‘यहाँ बाबा, ममीलाई सगैँ ल्याउन मन थियो। ममीलाई धेरै नै मिस गरेँ। बाबा आउनु भयो, अंकल आउनु भयो, दिदी आउनु भयो,’ फ्रान्स उँड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्, ‘छोरी खेलेको, बहिनी खेलेको जो कोहीलाई हेर्न मन हुन्छ। खुसी छु। मेरो एउटा सपना पूरा भयो। बाबा खुसी हुनुहुन्छ।’

फ्रान्सको क्लबबाट व्यवसायिक फुटबल खेल्ने साम्बा अबको १० दिन आफूलाई त्यहाँको वातावरणमा घुलमिल हुन गाह्रो हुने बताउँछिन्।

‘उता लेभल हाइ छ। धेरै मिहिनेत गर्नुपर्छ। मलाई १० दिन गाह्रो नै हुन्छ। फ्रान्समा क्लबले बेस्ट रिजल्ट दिन सकिरहेको छैन। तर पनि क्लबका मेम्बर खुसी हुनुहुन्छ,’ उनले भनिन्, ‘नयाँ जेनेरेसनका बहिनीहरू आएका छन्। सरकारले पनि क्लबलाई हेरिरहेको छ। प्रोफेसनल करिअरमा धेरै सिक्ने माध्यम बनेको छ। मैले टिमलाई म्यासेज दिन सक्छु। डिभिजन १ मा बस्न टफ छ। हामी फाइट गर्नेछौँ।’