कोशी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेतले उदघाटन गरेको चेस खेलमा राजन सुवेदीको अग्रता

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १५:४५     70 जनाले पढ़िसके



Spread the love

कोशी प्रदेश खेलकुद विकास वोर्डद्वारा संयोजित प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत चेस प्रतियोगिता बुधबार कोशी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले शुभारम्भ गरेका छन्। फाल्गुण १३ गते देखि १८ गते सम्म चल्ने खेलकुद महोत्सवमा विभिन्न ११ खेलहरु समावेश गरिएको मध्ये चेस खेलका दुई चरण सम्पन्न भएका छन्।

 

विराटनगर स्थित मारवाडी सेवा सदनको सभाकक्षमा सञ्चालन भएको प्रतिस्पर्धामा पूर्व नेपाल च्याम्पियन राजन सुवेदीले दुवै खेलमा जीत दर्ता गरेका छन्। झापा जिल्लाका १९८२ रेटेड राजनले झापा कै १५७१ रेटेड प्रविशा दवाडी र सुनसरीका १७४८ रेटेड बलबहादुर तामाङलाई पराजित गरेका हुन्। झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा चलेको बुद्धिचाल खेलमा झापा जिल्लाका शीर्ष २०२१ रेटेड सिएम शुश्रुत दहालले पनि दुबै खेल जितेर संयुक्त अग्र स्थान हासिल गरे। नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा प्रत्यक्ष प्रसारित खेल मार्फत कोशी प्रदेशका ८२ जना खेलाडी सहभागी मध्ये पहिलो दिन समान २ अंक जोडी १८ जना राष्ट्रिय खेलाडी शीर्ष स्थानमा रहन सफल छन्।

प्रतियोगितामा १८३७ रेटेड हिमाल राई, अनरेटेड रिटेशराज नेपाल, १९८२ रेटेड रिशोन थापा, १९१५ प्रज्वल धिमिरे, १८८२ रेटेड तिर्थराज सुब्बा, १८६५ रेटड लोकसागर साम्बा, १९३२ रेटेड प्रकाशचन्द्र नेपाल, महिला कृतिसारा अधिकारी लगायतका खेलाडी अगाडि छन्। कोशी प्रदेशका २९ जना खेलाडीले कूल नगद पुरस्कार रु. २ लाख १ हजार प्राप्त गर्ने स्पर्धामा पहिलो हुनेले नगद रु. ५० हजार, आकर्षक ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र हात पारेका छन्। द्वितीय हुनेले रु.२५ हजार, तृतीय हुनेले रु. १५ हजार, चौथोले १० हजार र बाकी दशौं स्थानमा रहनेले समानजनही रु. ५ हजार पाउने छन्।

यसपूर्व उदघाटन समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले आगामी वर्ष देखि खेल संघहरु संग साझेदारी गर्दै बुद्धिचाल र अन्य खेलको बिकास गर्ने योजना रहेको जानकारी गराए । झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष भुपेन्द्र निरौलाको सभापतित्वमा चलेको समारोहमा कृष्ण बस्नेत र संघका महासचिव धरम बहादुर लामाले चेस गोटी चाली उदघाटन गरेका छन्। लोकसागर साम्बाले सञ्चालन गरेको समारोहमा राठी ग्रुपका सञ्चालक अरुण राठी, बुद्धिचाल महासंघका केन्द्रीय सदस्य शुशिला गुरुङ, प्रदेश अध्यक्ष सुरेन्द्र राई, उपाध्यक्ष नारायण खतिवडा, पूर्व केन्द्रीय सदस्य द्वय विश्व विजय घिमिरे, कृष्णप्रसाद सिग्देल, उप प्रमुख निर्णायक फिडे आर्विटर (एफए) सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो।