इलामको जस्वीरे टी उद्योग आगलागी अपडेट : आठ करोडको क्षति

 संवाददाता    २०८१, १४ फाल्गुन बुधबार १४:०२     93 जनाले पढ़िसके



Spread the love

काठमाडौं । इलामस्थित जस्वीरे टी उद्योगमा हिजो राती भएको आगलागीका कारण ८ करोड बराबरको क्षति भएको छ ।

आगलागीका कारण कम्पनीको भवन र निर्यात गर्न तयार पारिएको स्पेशल अर्थोडक्स ग्रीन टी जलेर नष्ट भएको छ । फ्रान्स, अमेरिका, जापान, लिथुवानिया र चीन लगायतका देशमा निर्यात गर्न तयार पारेको चार करोड बराबरको उत्पादन नष्ट भएको जस्वीरे चिया उद्योगका संचालक मध्येका एक ग्रिष्म सुब्बाले बताए ।

सुब्बाका अनुसार चार करोड बराबरको भवन र चार करोड बराबरको स्पेशल अर्थोडक्स टी गरी जम्मा आठ करोड बराबरको क्षति भएको हो ।

कम्पनीमा मंगलबार राति साढे ११ बजे आगलागी भएको थियो । कम्पनीका अनुसार विद्युत शर्ट भएर आगलागी भएको थियो । आज विहान इलाम नगरपालिका र देउमाई नगरपालिकाका २ वटा दमकलले आगो निभाएका थिए ।

जसबीरे टी उद्योग ‘नेपाल टी च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित भएको थियो । कारखानाबाट उच्च गुणस्तरको वार्षिक झण्डै ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो । यो चिया उद्योग दश वर्षयतादेखि संचालन हुँदै आएको थियो ।