५८ अन्तर्राष्ट्रिय गोल गरिसकेकी साम्बालाई सबैभन्दा यादगार गोल कुन लाग्छ?

 संवाददाता    २०८१, १३ फाल्गुन मंगलवार ०८:३७     95 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ नेपालकी निर्विवाद सर्वकालीन उत्कृष्ट स्ट्राइकर हुन्। उनले अहिलेसम्म देशका लागि ५८ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्।

साम्बा नेपालका लागि महिला तथा पुरूष गरी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्।

फ्रान्सको शीर्ष डिभिजनको महिला लिग खेल्ने क्लब एन अभान्ट ग्वेंगाम्पमा आबद्ध साम्बा हाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न स्वदेशमा छिन्।

साम्बाले पछिल्ला दुई खेलमा लगातार गोल गर्न सफल भएकी छन्। लेबनानविरूद्ध दशरथ रंगशालामा नेपालले १-० गोलले खेल जित्दा साम्बाले निर्णायक गोल गरेकी थिइन्।

आइतबार बलियो मानिएको म्यानमारविरूद्ध नेपालले २-२ गोलको बराबरी खेल्दा पनि साम्बाको दुवै गोलमा योगदान रह्यो। साम्बाले पहिलो गोलमा पास दिइन् भने उत्कृष्ट दोस्रो गोल गर्न सफल भइन्।

पहिलो गोलका लागि साम्बाले सविता रानामगरलाई गोल गर्न आकर्षक पास मिलाएकी थिइन्। उत्कृष्ट ड्रिब्लिङ गर्दै तीव्र गतिमा बल कुदाएर उनले सवितालाई सिक्स यार्ड नजिक पास दिएकी थिइन्।

पहिलो गोलमा उत्कृष्ट पास दिएकी साम्बाले बराबरी गोल गर्दा सानदार फिनिसिङ गरिन्। सेन्टर नजिकबाट सरू लिम्बूले दिएको पासलाई प्रिति राईले सटिक रूपमा साम्बालाई पास दिइन्। जसमा उत्कृष्ट रनिङ गर्दै साम्बाले फिनिसिङ गरिन्।

फिफा वरीयतामा नेपालभन्दा ४८ स्थान माथिको म्यानमारविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दा साम्बाले आइतबार ५८ औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन्।

बलियो म्यानमारविरूद्ध उत्कृष्ट खेल देखाएकी साम्बाका लागि आइतबारको गोल र खेल अहिलेसम्मकै यादगार हो?

साम्बाको उत्तर छ- यादगार क्षणहरू करिअरमा थपिँदैछन्। म्यानमारविरूद्धको खेल यादगारमध्येको एक हो।

साम्बाले आफूले गरेका गोलहरूमध्ये अहिलेसम्मै बिर्सन नगरेको गोल भने छ वर्षअघि भारतविरूद्ध गरेको गोल हो।

भारतको भुवनेश्वरमा सन् २०१९ को फेब्रुअरीमा भएकोमा हिरो महिला गोल्डकपको लिग चरणमा नेपालले भारतलाई २-१ गोलले हराएको थियो। महिला फुटबलमा नेपालले भारतलाई हराएको सो पहिलो खेल बनेको थियो। सो खेलमा नेपालको जितमा दुवै गोल साम्बाले गरेकी थिइन्।

साम्बाले भारतविरूद्ध उसैको मैदानमा सात मिनेटभित्र दुई गोल गर्न सफल भएकी थिइन्। उनले पाँचौं मिनेटमा हिराकुमारी भुजेलले उपलब्ध गराएको पासमा भारतकी तत्कालीन गोलकिपर आदिती चौहानलाई कुनै मौका नदिई पहिलो गोल गरेकी थिइन्। दुई मिनेटपछि साम्बाले मनमाया लिम्बूको क्रसलाई सदुपयोग गरेर अग्रता दोब्बर पारेकी थिइन्। खेलमा पकड बनाउँदै ऐतिहासिक जित निकालेको नेपालविरूद्ध भारतकी रतनबाला देवीले ८४ मिनेटमा गोल गरेकी थिइन्।

‘मेरो करिअरको उत्कृष्ट खेल हिरो गोल्डकपमा भारतलाई उनीहरूकै मैदानमा २-१ गोलले जितेका खेल हो। त्यो क्षण कहिल्यै पनि बिर्सन सक्दिनँ। त्यो खेलमा दुवै गोल मैले गरेकी थिएँ,’ साम्बाको भनाइ छ।

यस्तै गत कात्तिकमा भएको महिला साफ च्याम्पियनसिपमा भारतविरूद्धको सेमिफाइनलको खेल पनि साम्बाले सम्झिरहने खेल हो।

दशरथ रंशगालामा भएको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले ५१ मिनेटमा रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा सीमित बनेको थियो।

६२ मिनेटमा भारतकी संगीताले गोल गर्दै अग्रता दिलाएकी थिइन्। लगत्तै नेपालले बल चलाएर जाली चुमाएको थियो। तर रेफ्रीले पछि आफ्नो निर्णय परिवर्तन गर्दै गोललाई अमान्य घोषित गरिन्। तर नेपाली खेलाडी र दर्शकले विरोध गर्दा खेल तनावग्रस्त बन्यो। जसका कारण खेल एक घन्टा बढी रोकिएको थियो।

त्यसपछि सुरू भएको खेलको ६६ मिनेटमा साम्बाले उत्कृष्ट रनिङमार्फत् गोल गरेर खेललाई बराबरीमा ल्याएकी थिइन्।

‘२०२४ साफ च्याम्पियनसिपको भारतविरूद्धको सेमिफाइल मेरो करिअरको राम्रो खेलमध्ये एक हो,’ साम्बाले भनिन्।

म्यानमारविरूद्ध आइतबार उत्कृष्ट प्रदर्शन गरेकी साम्बाले बुधबार म्यानमारविरूद्ध नै हुने फाइनल भिडन्तलाई पनि यादगार बनाउने लक्ष्यमा छिन्। साम्बाले आइतबार गरेको प्रदर्शनले आफूलाई फाइनल खेलमा अझ उत्प्रेरणा मिल्ने बताइन्।