किर्गिस्तानलाई पराजित गर्दै लेबनान काठमाडौँमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा शान्त्वना जित निकाल्दै घर फर्किएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा किर्गिस्तानलाई २-० गोल अन्तरले हराउँदै लेबनान पहिलो जित निकाल्दै घर फर्किएको हो। किर्गिस्तान भने सबै खेलमा हार भोग्दै घर फर्कियो।
पहिलो हाफको १३ औँ मिनेटमा क्रिष्टि मोलाउफको गोलमा लेबनानले सुरुवाती अग्रता बनाएको थियो। उनले २५ यार्ड परबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो।
खेलको २२ औँ मिनेटमा मे रोज मन्नाको गोलमा लेबनानाले अग्रता दोब्बर पार्यो। लेबनान पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली नेपालसँग १–० ले पराजित भएको थियो।
पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको किर्गिस्तान दोस्रो खेलमा म्यानमारसँग ५–० को फराकिलो अन्तरले हार व्यहोरेको थियो।
आजै हुने समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपाल र म्यानमार भिड्दैछन्। सो खेल साँझ ६ बजे सुरु हुनेछ। यो खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेका नेपाल र म्यानमार यसअघि नै फाइनलमा पुगिसकेका छन्।