शंकर पोखरेलको तर्क: त्यस्ता अनुदानलाई ‘फ्रड’ भनेका हुन् भने त्यसको नैतिक दायित्व ती मुलुककै

 संवाददाता    २०८१, ९ फाल्गुन शुक्रबार ११:३३     72 जनाले पढ़िसके



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिने गरिएको आर्थिक सहयोगलाई ‘फ्रड’ (ठगी) भनेपछि यहाँ बहस सिर्जना भएको छ।

यस विषयमा खासगरी जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले टिप्पणी गरिरहेका छन्।

यसै क्रममा सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको प्रतिरक्षा गर्दै विदेशी अनुदान फ्रड हो भने त्यसको जिम्मेवार पनि सहयोग गर्ने मुलुक नै हुने तर्क गरेका छन्।

‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन्’, महासचिव पोखरेलले शुक्रबार बिहान फेसबुकमा लेखेका छन्, ‘त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुककै होला नि! गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश आफैँ बनाउने अभियानमा जुटौ र भनौँ- हामी बनाउछौँ, हाम्रो देश नेपाल।’

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार मात्रै नेपालको संघीयता सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर सहयोग रोक्दै यसलाई ठगीको संज्ञा दिएका थिए।

यसमा सत्तामै रहेको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले भने ट्रम्पको टिप्पणीले धेरै प्रश्न उठेको भन्दै स्वदेशकै जिम्मेवार व्यक्तिहरूविरुद्ध छानबिन गरिनुपर्ने माग गरेका थिए।