विदेह नगरपालिकामा ८३ जना कर्मचारी बर्खास्त

 संवाददाता    २०८१, ६ फाल्गुन मंगलवार ११:०९     58 जनाले पढ़िसके



Spread the love

धनुषाको विदेह नगरपालिकामा प्रशासनिक तहमा कार्यरत ८३ जना कर्मचारीलाई बर्खास्त गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहले ती कर्मचारीहरुलाई बर्खास्त गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत साहले नगर प्रहरी, डोर हाजिरी, नयाँ नियुक्ति तथा करार सेवाका विभिन्न तहका कर्मचारीलाई हटाइएको बताउनुभयो । उहाँका नगर प्रहरीतर्फ असईदेखि प्रहरीसम्म १२ जना, नयाँ नियुक्ति भएका १० जना, डोर हाजिरीका ३५ जना, ६ महिनाका लागि नियुक्त गरिएका करार सेवाका २० जना तथा १ वर्षका लागि नियुक्त गरिएका ६ जनालाई पत्राचार गर्दै पदमुक्त गरिएको छ ।

स्थायी कर्मचारीहरूमध्ये छैटाैं तहका कर्मचारी दानी ठाकुर र स्टोरका कर्मचारी भुला यादवलाई पाँच वर्षका लागि ग्रेड वृद्धि रोक्का गर्न सिफारिस गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत साहले यसको पुष्टि गर्दै भन्नुभयो, “नयाँ नियुक्त गरिएका १० कर्मचारी हटाइएको छ । परीक्षा लिने क्रममा अवजेक्टिभ प्रश्नपत्र बाहिरिएको गुनासो आएको थियो जस कारण ती कर्मचारी हटाइएका हुन् ।”

उहाँले कार्यविधि मिचेर करार सेवामा कर्मचारी राखिएको तथा राज्यकोषको दुरुपयोग हुने गरी डोर हाजिरीमा कर्मचारी नियुक्त गरिएकाले तिनीहरूलाई हटाइएको जानकारी दिनुभयो । साहका अनुसार नगरपालिकामा सुशासन कायम गर्न र प्रशासनिक प्रणालीलाई व्यवस्थित गर्न यो कदम चालिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतले त्यति धरै सङ्ख्यामा कर्मचारी बर्खास्त गरेपछि बर्खास्तीमा परेका कर्मचारीहरुले विरोध जनाएका छन् ।