घटना सार्वजनिक नगर्न पंचायतले दबाब दिएपछि सिरहामा सामूहिक वलात्कार पिडित एक युवतीले आत्महत्या गरेकी छिन्।
न्याय दिनुको सट्टा ‘घटना बाहिर ल्याए समस्यामा पर्ने’ भन्दै पंचायत बैठकले धम्की दिए पछि सिरहाको नवराजपुर गाउँपालिका- १ भगवतीपुर तामासुइयाकी १७ वर्षीया रिंकुकुमारी सदायले आत्महत्या गरेकी हुन्।
प्राप्त विवरण अनुसार , गत माघ २६ गते राती शौचालय गएको बेला रिंकुकुमारी सदायलाइ गाउँकै तीन युवाहरुले अपहरण शैलीमा उठाएर लगेर सामुहिक बलात्कार गरेका थिए । बलात्कारपछि ती युवाहरुले अचेत रिंकुलाई राति करिब ३ बजे घर लगेर छाडेका थिए । होसमा आएपछि सोधपुछ गर्दा उनले तीन जनाले आफूलाई बाँसघारीमा लगेर जबरजस्ती गरेको बताएको रिंकुकी आमाले जानकारी दिइन् ।
उनले भोलिपल्टै छरछिमेकलाई घटनाबारे जानकारी दिए लगत्तै टोलमै पञ्चायत बसेको थियो । पञ्चायतमा आरोपीहरु टिंकु मण्डल, चन्दन साह र रमेश मण्डल तथा तीनै जनाका अभिभावकहरुलाई पनि बोलाइएको थियो ।
त्यही पाँच भेलाका पञ्चहरुले “घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए । पञ्चहरुले आफ्नी छोरीलाई न्याय नदिएको र आरोपीहरुबाट एकलाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय दिएको भोलिपल्ट छोरीले आत्महत्या गरेको उनले बताइन् ।
छोरीले पनि पञ्चायतको निर्णयको प्रतिवाद गरेको उनले बताइन् । पञ्चायत भएको केही घण्टामै किशोरीले घरमै झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
यता मृतक किशोरीको शव धरानमा अलपत्र परेको छ । घटनास्थलबाट सोही दिन प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याएको थियो, तर त्यहाँ पोष्टमार्टम गरिएन ।
पीडित परिवारले सामूहिक बलात्कार भएकाले विस्तृत अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेको छ । त्यसपछि प्रहरीले शव पोष्टर्माटमका लागि धरान पठाएको छ । तीन दिन भइसक्दा पनि शव परिवारले बुझेको छैन ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु सोतीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
सामूहिक बलात्कार भएको भन्ने कुरा अनुसन्धानको विषय भन्दै डीएसपी सोतीले पोष्टमार्टम नभइसकेकाले सामूहिक बलात्कार भन्न नमिल्ने बताए