इलाम । इलामको सुर्योदय नगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोराबुहारी सहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई रहेका छन् ।
उनीहरुले सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको हत्या गरेका हुन् । पक्राउ परेका मध्ये एडवर्ड राई र मालती तामाङ धनराजका आफ्नै छोराबुहारी हुन् । उनीहरूकै योजना र निर्देशन अनुसार बाँकी ४ जनाले धनराजको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
बाबुसँग विवाद भएपछि करिब ८ महिना पहिलेदेखि छोराबुहारी छुट्टै बस्दै आएका थिए । हत्याको एक साता अघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबीच विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ ।
त्यसपछि अम्रिसो किन्न खोज्ने समूहकै व्यक्ति प्रयोग गरेर धनराजको हत्या गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका चार जना धनराजको घरमा अम्रिसो किन्न भनेर गएका व्यक्ति हुन् ।
गत सोमबार माघ २८ गते दिउँसो ११ बजेतिर धनराज मृत फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आफ्नै घरको भुईंतलामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रड, फरुवा, आग्लोलगायत प्रहार गरेर धनराजको हत्या भएको प्रहरीले जनाएको छ ।