महिला च्याम्पियनसिप खेल्न एन्जिला, साम्बा र रेखा काठमाडौँ आउदै

 संवाददाता    २०८१, ३० माघ बुधबार १३:४०     92 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ खेल्न बुधबार काठमाडौँ आइपुग्ने भएकी छन्। व्यवसायीक फुटबल खेल्न ग्रिसमा रहेकी गोल रक्षक एन्जिला एयर अरेबियाको विमानमार्फत दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछिन्।

एन्जिलाले ग्रिसको शीर्ष डिभिजनमा यही महिना डेब्यु गरेकी थिइन्। फिफा विन्डोमा हुने च्याम्पियनसिप खेल्न उनी फर्किन लागेकी हुन्। यसबीचमा क्लबका खेलहरू हुने छैनन्। उनी ग्रिसको नीस अट्रोमिटौमा आवद्ध भएकी छिन्।

व्यवसायीक फुटबल खेल्न फ्रान्समा रहेकी फर्वाड सावित्रा भण्डारी साम्बा र साउदीमा रहेकी रेखा पौडेल पनि फर्किने भएका छन्। साम्बा आगामी सोमबार बिहान ९ बजे काठमाडौँ आइपुग्नेछन्। एयर इन्डियाको विमानमार्फत काठमाडौँ आउने तालिका रहेको छ। रेखा भने आगामी शनिबाार दिउँसो पौने ४ बजे काठमाडौँ आउनेछिन्।

एन्फाको आयोजनामा फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदै छ। च्याम्पियनसिपमा नेपालसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारी स्वरुप हुन लागेको प्रतियोगिताका लागि यसैसाता तीन देशका टोली नेपाल आउने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारीअनुसार फागुन १ गते किर्गिस्तान तथा २ गते म्यानमार र लेवनानका खेलाडी काठमाडौँ आइपुग्ने भएका हुन्।

सहभागी टोलीलाई अभ्यासका लागि एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ।

नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको तयारीका लागि ३० सदस्यीय नेपाली राष्ट्रिय टोली प्रशिक्षणमा छ। बन्द प्रशिक्षण महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा सञ्चालन भइरहेको छ। व्यवसायीक फुटबल खेल्न विदेशमा रहेका तीन खेलाडीबाहेक अरु खेलाडी प्रशिक्षणमा सहभागी छन्।

खेलहरु सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।

एन्फाले तयारी पूरा भएको जनाएको छ। प्रतियोगिताका लागि साधारण पारापिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ।