नेपाल बैंकका अध्यक्षका चालकको बयान- सबै पैसा सरको हो, मलाई केही थाहा छैन

 संवाददाता    २०८१, २९ माघ मंगलवार ११:२६     128 जनाले पढ़िसके



Spread the love

नेपाल बैंक लिमिटेडका अध्यक्ष डा चन्द्रबहादुर अधिकारी यतिखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा छन्। उनले कर्जा प्रवाह गर्दा घुस एवं कमिसन लिने गरेको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो।

उनीमाथि अनुसन्धानका क्रममा अख्तियारले उनका सवारी चालक उमेश महर्जनलाई पनि नियन्त्रणमा लिएको थियो। त्यस क्रममा उनले बयान दिँदा आफ्नो खातामा भएको कारोबार आफ्नो नभएको र सबै अध्यक्ष अधिकारीले भनेबमोजिम गरेको बताएका छन्।

अनुसन्धानमा संलग्न एक अधिकारीका भनाइमा, सवारी चालकको खातामा अस्वाभाविक कारोबार देखिएको छ। उक्त कारोबारको विश्वसनीय र वैधानिक स्रोत ती चालकले खुलाउन सकेका छैनन्।

‘अध्यक्ष सरले भनेबमोजिम गरेको हो। सबै पैसा सरकै हो। मलाई केही थाहा छैन,’ चालकको प्रारम्भिक बयानलाई उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो।

अधिकारीले आफ्ना सवारी चालक महर्जनमार्फत ऋणीहरूबाट कमिसन लिने गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो। उनका सवारी चालक महर्जनको खातामा एकैपटक २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार गरेको भेटिएको छ।

अख्तियारले सुरुमा चालक महर्जनसँग बयान लिएको थियो। त्यसपछि अध्यक्ष अधिकारीलाई अख्तियारले बोलाएको थियो। उनी अख्तियारको निगरानीमै छन्।

नेपाल बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयमा रहेको अध्यक्ष अधिकारीको कार्यकक्ष पनि अख्तियारले ‘सिल’ गरेको छ।

अध्यक्ष अधिकारीले ठूला कर्जा प्रवाह गर्दा समयमा निर्णय नगर्ने, फाइल अनावश्यक अड्काइदिने, कमिसनका लागि बार्गेनिङ गर्ने गरिरहेको भन्दै अख्तियारमा उजुरी परेका थिए।

अधिकारीलाई २०८० असोज १० गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सरकारी स्वामित्वको बैंकको अध्यक्ष नियुक्त गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक पनि हुन्। यसअघि उनी कृषि विकास बैंकका सञ्चालक पनि थिए।